संक्षिप्त परिचय
पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलका ६ जिल्ला मध्येको एक जिल्ला गुल्मी सो अञ्चलको उत्तरी सिमानामा अवस्थित छ । संस्कृत भाषामा सैनिक वा पल्टनलाई गुल्म भनिने र सामरिक महत्व बोकेको हालको गुल्मी क्षेत्रमा पनि लिच्छविकाल र मध्यकालमा सैनिक गुल्म रहने भएकोले यसलाई गुल्मी भनी नामकर गरिएको हो भन्ने भनाइ रहेको छ । यो जिल्ला २७° ५५’ देखि २८° २७’ सम्म उत्तरी अक्षांश तथा ८३° १०’ देखि ८३° ३५’ सम्म पूर्वी देशान्तर रहेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार यस जिल्लाको क्षेत्रफल १,१४९ वर्ग कि. मि. (१,१४,९०० हेक्टर) रहेको छ । समुद्री सतहबाट ४६५ मि. (रिडि) देखि २६९० मि. (थाप्लेको लेक) उचाई सम्मको भू -भाग समेटेको छ । सरदर पूर्व पश्चिम लम्बाई ४० कि. मि. र सरदर उत्तर दक्षिण चौडाई ३० कि. मि. रहेको छ । यो जिल्लाका पूर्वमा स्याङ्जा र पर्वत, पश्चिममा प्यूठान र उत्तरमा वाग्लुङ र दक्षिणमा पाल्पा र अर्घाखाँची जिल्लाहरु पर्दछन् ।
थप पढ्नुहोस्